नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग गृहमन्त्री लामिछानेको आग्रह
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको र ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।
तेस्रो लगानी सम्मेलनका क्रममा काठमाडौंमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लामिछानेले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोही अनुसारका समस्या समाधानका नीति निर्माणमा आफू लागिपरेको दावी गर्नुभयो ।
नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै उहाँले लगानी कर्ताहरुको सुरक्षाका लागि आफू सबै किसिमबाट प्रतिवद्ध रहेको बताउनुभएको छ । जग्गा मूल्यांकन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि उहाँले बताउनुभयो ।
वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयक मार्फत ऐन बनाएर सहज बनाएको उहाँको भनाइ छ । नेपालका पर्यटन, विद्युत, आइटी र कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग गृहमन्त्री लामिछानेले आग्रह गर्नुभयो ।