दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण १ लाख भन्दा बढी मानिसलाई सरकारले स्थानान्तरण गरेको छ।
एजेन्सी । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण १ लाख भन्दा बढी मानिसलाई सरकारले स्थानान्तरण गरेको छ ।
सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधबार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाई स्थानान्तरण गरेको हो । हालैका दिनहरूमा ग्वांडोङमा भीषण वर्षा भइरहँदा नदीको स्तर बढेको छ । जसका कारण ठूलो बाढी आउन सक्ने सम्भावना रहेको हो ।
मंगलबार सेन्जेनको मेगासिटीमा भारी वर्षा भएको छ । बाढीको जोखिम अझै उच्च रहेको मौसम विभागले जनाएको हो । मानिसहरूलाई सम्भावित विपदबाट सतर्क रहन आग्रह गरिएको छ । बेई नदीको सहायक नदीले घेरिएको छिङयुआनबाट ४५ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी सञ्चार माध्यमले बताएको हो ।
चिनियाँ राज्य समाचार एजेन्सी सिन्ह्वाले हप्ताको अन्त्यमा भारी वर्षा शुरु भएदेखि गुआङडोङका १ लाख १० हजार बासीन्दालाई स्थानान्तरण गरिएको जनाएको छ। चीनमा बाढीले हालसम्म ४ जनाको मृत्यु र १० जना बेपत्ता भएका हुन्।