हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
शुक्रबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको हो । देशको बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको छ । त्यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित छिटपुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको हो ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको हो ।
शुक्रबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सफा हुने भएको छ । त्यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी/हिमाली भू-भागको केही स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।