इलाम-२ मा पनि उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, आजै रातिदेखि मतगणना शुरू गरिंदै
काठमाडौं । इलाम–२ को प्रतिनिधिसभाको सदस्यका शनिबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको उपनिर्वाचनको मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ ।
निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको हो ।इलाम–२ मा इलाम नगरपालिका-७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिंदैछ । शनिबार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने आयोगले जनाएको हो । त्यसपछि शनिबार रातिदेखि नै मतगणना शुरु हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत देवीचरण फूँयाले भन्नुभयो, -'सबै राजनीतिक दलसहित हामी गौतमबुद्ध सभासलमा छौं । मांसेबुङ, चुलाचुली, माइ नगरपालिका र फाक्फोकथुमको फुयतपा पाटोको मत पेटीका कुरेर बसेका छौं । अझै २ घण्टा भन्दा बढी समय लाग्छ होला ।’
मतगणनाको परिणाम डिस्प्लेमा देखाउने तयारी भइरहेको पनि निर्वाचन अधिकृत फूँयाले जानकारी दिनुभयो । इलाम–२ मा शनिबार सम्पन्न भएको मतदानमा करिब ५८ प्रतिशत मत खसेको छ । गत २०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८ सय ८९ जना मतदाता रहेका छन् ।
यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले चुनावी मैदानमा प्रतिष्पर्धा गरेको आयोगले जनाएको हो ।