आगलागी प्रभावित जिल्लामा राहत र उद्धारका लागि जुट्न पार्टीका नेता-कार्यकर्तालाई सभापति देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता-कार्यकर्तालाई आगलागी प्रभावित जिल्लामा राहत र उद्धारमा जुट्न निर्देशन दिनुभएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उहाँले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार-राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको हो । देशका विभिन्न जिल्लामा व्यक्तिका घर, वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, घर, खाद्यान्न र लत्ताकपडा लगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौं चौपायाको मरेकाप्रति पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ।
त्यस्तै, आगलागीका कारण आफ्नो घरबाससहित धनसम्पत्ति गुमाएका परिवारजनप्रति उहाँले पार्टी र व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गर्नुभएको हो । आगलागीमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर-शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु। साथै घाइतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, जारी विज्ञप्तिमा भनिएको छ ।
आगलागीका कारण जलेर घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध, घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति र बसोबासको यथोचित प्रवन्ध गर्न समेत सरकारसँग सभापति देउवाले माग गर्नुभयो।