सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउँछ: मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउने बताउनुभएको छ ।
नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मञ्चको सम्मेलनलाई शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यसअघि सरकारको नीति र कार्यक्रम भन्दा फरक बजेट आउने गरेको सन्दर्भ उल्लेख गर्दै आगामी वर्षको बजेट सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारमा आउने उहाँको दावी छ ।
सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिकालाई सबैले मनन गरेको र जनताको निराशालाई चिर्दै अघि बढ्न सरकार क्रियाशील रहेको उहाँले बताउनुभएको हो। उहाँले लगानी सम्मेलनमार्फत बाह्य, राष्ट्रिय पूँजीलाई उत्पादन र व्यवसायसँग जोड्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राख्नुभयो । अहिलेको मुद्दा तथा सन्दर्भलाई सम्बोधन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको पनि उहाँको भनाइ छ ।
नेकपा एमालेका नेता समेत रहनुभएका मन्त्री भण्डारीले एमालेको नीति, नेतृत्व र विचारबाट मात्रै राष्ट्रले सही मार्ग समात्ने दावी गर्नुभयो।