एमाले कर्णालीको अध्यक्ष बन्न मैदानमा गएनन् केन्द्रीय सदस्यहरू
नेकपा (एमाले) कर्णालीमा केन्द्रीय सदस्यहरू प्रदेश अध्यक्षको आकांक्षाबाट बाहिरिएका छन्।
असोज १० र ११ गते हुने प्रदेश अधिवेशनमा पोलिटब्युरो सदस्यहरू नै अध्यक्षको आकांक्षीका रूपमा थिए।
एमालेको ९३ सदस्यीय पोलिटब्युरोमा कर्णाली प्रदेशबाट ४ जनाको प्रतिनिधित्व छ। गुलाबजंग शाह, भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लक्ष्मी पोखरेल पोलिटब्युरो सदस्य छन्।
भैरवसुन्दर श्रेष्ठ राष्ट्रिय सभा सदस्य भएकाले उनले कार्यकारी पदमा उम्मेदवारी दिन मिल्दैन। बाँकी तीन जना प्रदेशको आकांक्षीका रूपमा थिए।
त्यसका अतिरिक्त केन्द्रीय सदस्य प्रेमबहादुर सिंह, विष्णु रिजाल, निरज आचार्य, दल रावललगायत पनि प्रदेश अध्यक्षको दौडमा थिए।
उनीहरू प्रतिस्पर्धाबाट बाहिरिएको एक नेताले जानकारी दिए। प्रेमबहादुर सिंहबाहेक अरू केन्द्रीय नेताहरू प्रदेश अधिवेशनको प्रतिनिधि बनेका छैनन्। प्रदेश अधिवेशन प्रतिनिधि नबनेकाहरू प्रदेश अध्यक्षको उम्मेदवार बन्न पाउँदैनन्। अहिले प्रदेश कमिटीमा रहेकाहरू पनि संगठन कमिटी भएकाले प्रतिनिधि चुनिएरै आउनुपर्छ।
एमाले कर्णालीले भदौ २७ गतेदेखि प्रतिनिधि चयन थालेको थियो। सल्यानको बनगाड कुपिन्डे नगरपालिकाबाहेक सबै ठाउँमा प्रतिनिधि चयन टुंगिएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। मंगलबारसम्ममा प्रतिनिधि छनोट सकिने उनले बताए।
प्रतिनिधि चयनमा कतैकतै विवाद सिर्जना भए पनि सर्वसम्मत रूपमा छनोट भएको प्रदेश सचिव टेकराज पछाईंले जानकारी दिए।
‘कतिपय ठाउँमा दाबेदार धेरै भएपछि सामान्य विवाद भएको थियो। विवाद समाधान भइसक्यो। निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना कतै भएन,’ उनले भने।
५१ हजार ७ सय ५० प्रनिधिबाट ६ सय १० जना प्रतिनिधि चुनिएर आउने सचिव पछाईंले जानकारी दिए।
१० जिल्लाका ७९ (५४ गाउँपालिका, २५ नगरपालिका) पालिकाबाट सय सदस्य बराबर एकजना प्रतिनिधि छानिएको पछाईंले बताए। सय जना प्रतिनिधि भाग लगाउँदा ५० शेष रहेमा त्यसबाट थप एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको पनि उनले बताए।
७५ संगठित सदस्यबाट एक जना दलित र दलितको हकमा एउटा प्रदेश सभाबाट एक जनाको प्रतिनिधित्व रहने बताइएको छ।