नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचका लागि मन्त्री साहको आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न भारतसँग आग्रह गरेका छन् ।
भारतको विशाखापटनममा आयोजित ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा मन्त्री साहले भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय व्यापार, पारवहन, औद्योगिक सहकार्य र नेपाली उत्पादनको भारतीय बजारमा पहुँचका विषयमा छलफल भएको थियो ।
मन्त्री साहको सचिवालयका अनुसार भेटमा साहले नेपाली उत्पादनले भारतीय मानक ब्युरो (बीआइएस) को प्रमाणपत्र प्राप्त गर्दा भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतको समस्या उठाएका थिए । उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता र धागोको प्रमाणीकरण प्रक्रिया सरल बनाउन आग्रह गरे ।
नेपालमा बीआइएस मापदण्डअनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा भारतीय मन्त्री गोयलले सकारात्मक चासो देखाएका छन् । उनले प्रक्रिया अघि बढाउन आफ्ना सचिवलाई निर्देशन दिएको सचिवालयले जनाएको छ ।
भेटवार्तामा भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । त्यस्तै, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन र काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अवरोध हटाउने विषय उठाइएको थियो ।
कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एन्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा नवीकरण वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा पनि दुवै पक्षबीच कुराकानी भएको छ ।
त्यसैगरी, नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्क पुनरावलोकन, नेपाली चियाको निर्बाध प्रवेश र कृषि उत्पादनको गुणस्तर परीक्षण सहज बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका प्रयोगशालाको प्रतिवेदनलाई भारतले मान्यता दिनुपर्ने र सीमावर्ती क्षेत्रमा परीक्षण सुविधा विस्तार गर्नुपर्ने प्रस्तावसमेत नेपाली पक्षले राखेको थियो ।