भीमफेदी माइक्रोबस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, राहत र उपचारको माग
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बुधबार बिहान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए ।
कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
पछिल्लो समय देशभर सडक दुर्घटना बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै कांग्रेसले दुर्घटना न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा दुर्घटनाका कारणहरूको गहन अध्ययन गरी सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गर्न तथा प्रभावकारी नीतिगत र व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न पनि माग गरिएको छ ।