सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
नवनियुक्त न्यायाधीशमध्ये डा. बाग्चन्द यसअघि उच्च अदालत पोखराका मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए । त्यस्तै, सारु उच्च अदालत पाटनमा कार्यरत थिए ।
यसैगरी, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा न्यायाधीशका रूपमा कार्यरत थिए भने डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए । चारै जनाको नियुक्तिसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या थपिएको छ ।