सत्तापक्षदेखि विपक्षीसम्म सरकारको निसानामा, माओवादी मात्र चोखो !
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम सुनकाण्डमा पटकपटक जोडिएर आएको छन् । सुन तस्करसँग पार्टीका उपमहासचिव वर्षमान पुनको नाम पनि जोडिएर आयो । अर्का उपमहासचिव जनार्दन शर्माको नाम पृथ्वीबहादुर शाहीसँग जोडिएर आयो । सुनकाण्डमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम पनि मुछिएर आयो ।
त्यति मात्र होइन, पार्टीका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम पनि सुन तस्करीसँग जोडिएर आयो । यिनीहरूको बारेमा संसद्मा पनि कुरा उठ्यो । सत्ताधारी दल कांग्रेस, विपक्षी दल एमालेलगायत अन्य दलहरूबाट माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग यसको बारेमा जवाफ माग्ने काम पनि भयो । एमालेले केही दिनदेखि संसद् नै अवरुद्ध गर्दै आएको छ ।
तर माओवादी केन्द्र र सरकारले यसको बारेमा कुनै जवाफ दिएको छैन । माओवादीकै सत्ता सहयात्री दल कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नेपाल समाजवादी पार्टीलाई भने विभिन्न काण्डमा डाम्ने काम सरकारबाट भइरहेको गुनासो सुन्न थालिएको छ ।
माओवादीका शीर्ष नेताहरूको नाम विभिन्न काण्डको अनुसन्धान प्रतिवेदनहरूमा आउँदा पनि सरकारको नेतृत्व गरेको पार्टी नबोलेको कांग्रेस, एमाले, जसपा नेताहरूको गुनासो छ ।