केन्द्रीय समिति बैठकमा लेखनाथ न्यौपानेले किन राखे माओवादी विघटन हुने विचार ?
प्रज्ञा भवन, कमलादीमा तीन दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले गम्भीर सवाल उठाएका छन् ।
बैठकको दोस्रो दिन सुरूमै बोलेका उनले व्यवहारमा विचार अभिव्यक्त हुने र व्यवहारले विचारलाई थप विकसित गर्ने साइकल (चक्र) नै भताभुङ्ग भएकाले माओवादी पार्टी ओरालो लागेको जिकिर गरेका छन् । नेपालमा सबै नामका वाम अर्थात् चौथो महाधिवेशन स्कुलका सबै घटकहरू वैचारिक, संगठनात्मक र सांस्कृतिक रूपमा गम्भीर संकटमा रहेको उनको भनाइ छ ।
अहिले विचार र व्यवहार दुवैमा माओवादी घोर अन्योल र द्विविधामा रहेको न्यौपानेले जनाए । संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कतै नभएको उदाहरण पेस गर्दै उनले नेतृत्वले गलत ठाउँमा प्रयोग गरिरहेको जिकिर गरे ।
‘माओवाद जुन उद्देश्यका निम्ति बनेको सिद्धान्त हो, त्यसको प्रयोग हामीले गलत ठाउँमा गरिरहेका छौँ,’ उनले भने, ‘संसारमा माओवादी सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ छैन ।’
न्यौपानेले माओवाद अर्कै उद्देश्यका निम्ति बनेको सिद्धान्त भएको जिकिर गर्दै इतिहासमा माओवादीले त्यसलाई सही ढंगले प्रयोग गर्ने कोसिस गरे पनि आज त्यसको विपरीत घोर सैद्धान्तिक द्विविधाले ओरालो पारेर खेदिरहेको भनाइ राखे ।