छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम जाँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम जाने भएका छन् । उनी पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा छठ पर्वका धार्मिक अनुष्ठानमा सहभागी हुन लागेका हुन् ।
रास्वपा मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिको सम्बोधन कार्यक्रम तय गरिएको छ ।
दिउँसो २ देखि ४ बजेसम्म सोही स्थानमा पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुनेछ । त्यसपछि साँझ ५ बजे छठ पर्वको खरना पूजा तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जनकपुरधाम तथा आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्नेछन् । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा उनी सहभागी हुनेछन् ।
त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने तथा छठ पर्वका विधिमा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।
मधेश प्रदेश महामन्त्री मानिकुमार साहद्वारा हस्ताक्षरित सूचनामार्फत पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय र उपस्थितिका लागि आग्रह गरिएको छ ।