भारतको मणिपुरमा बन्दुकधारीको आक्रमणमा चार जनाको मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुने सबै नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।
शुक्रबार मणिपुरको उखरुल जिल्लास्थित नेसनल हाइवे–२०२ अन्तर्गत न्यु हेवननजिकै दुईवटा सवारीसाधनमाथि आक्रमण भएको हो।
प्रहरीका अनुसार इम्फालतर्फ जाँदै गरेका नागा समुदायका नागरिक सवार दुईवटा सवारीसाधनलाई लक्षित गरी बन्दुकधारीहरूले गोली प्रहार गरेका थिए।
घटनापछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै घटनास्थल र आसपासका क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरी, सीमा सुरक्षा बल (बीएसएफ), भारतीय सेना र असम राइफल्सका सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।
आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निगरानीसमेत बढाइएको छ।