माओवादी रूपान्तरणबारे प्रदेशका नेताहरू : निर्णयमा उत्साहित, कार्यान्वयनमा आशंका
केन्द्रीय कमिटी बैठकअघि द्विविधा र अन्योलग्रस्त अवस्थामा काठमाडौँ आएका माओवादी केन्द्र, प्रदेश कमिटीका पदाधिकारीहरू बैठकपछि निकै उत्साहित देखिन्छन् । २०७० पछि निरन्तर ओरालो लागेको पार्टी, अस्तव्यस्त साङ्गठनिक संरचना, वैचारिक अस्पष्टता, गुटबन्दीले निराश देखिएका उनीहरू माओवादी फेरि जाग्नेमा आशावादी छन् ।
गत साउन १७ देखि २१ सम्म संघीय राजधानीको प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकले पार्टी रूपान्तरणका लागि ‘जनतासँग माओवादी विशेष’ तीन महिने अभियान चलाउने निर्णय गरेको छ । पदाधिकारीसहित केन्द्रीय कमिटी, वैकल्पिक केन्द्रीय कमिटी सदस्यहरूलाई अन्तरजिल्लामा पठाउने गरी जिम्मेवारी हेरफेर भएको छ ।
बैठकलगत्तै प्रदेशका नयाँ इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारीबीच भएको छलफलले केन्द्रीय सदस्यहरूको मोटामोटी कार्य विभाजन टुङ्ग्याएको हो । इच्छाएको पालिका र वडामा जाने सदस्यहरूको विवरण पठाउन प्रदेश कमिटीलाई केन्द्रीय कार्यालयले साउन मसान्तसम्मको समयसीमा तोकेको छ ।
प्रदेश कमिटीले तयार पारेको कार्य विभाजनमा केन्द्रले अनुमोदन गरेपनि केही दिनमा सर्कुलर जारी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।