जनतासँग माओवादीको विशेष अभियान : १२ वटा कार्यादेशमा आधारित कार्यक्रम, डिजिटलाइज गर्ने प्रयास
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफल बनाउन नेताहरू गृहकार्यमा जुटेका छन् । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन १७ गतेदेखि २१ सम्म बसेको बैठकले पार्टी रूपान्तरणका लागि तीन महिने विशेष अभियान घोषणा गरेको थियो ।
भदौ १६ गते भव्य समारोहबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्ने कार्यसूची तय भएको छ । विशेष अभियानमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ७ प्रदेशको ७ वडामा पुगेर जनतासँग प्रत्यक्ष संवादमा जोडिने घोषणा गरेका छन् ।
केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री प्रचण्डले अभियानलाई भव्य रूपमा सफल बनाउन नेताहरूलाई निर्देशन दिइसकेका छन् । बैठक सकिए लगत्तै भौगोलिक र अन्य गरी १० प्रदेशका नवनियुक्त इन्चार्जले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग परामर्श र छलफल थालेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अभियानको पूर्वतयारी, कार्यविभाजन, कार्यक्षेत्रको विषयमा केन्द्रीय सदस्यहरूसँग सम्बन्धित प्रदेशका इन्चार्जले छलफल गरिरहेका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार कार्यक्षेत्रमा जाने सदस्यहरूले साउन मसान्तसम्म विवरण केन्द्रीय कार्यालयलाई पठाउन निर्देशन दिइएको छ । सोमबारदेखि भदौ १५ गतेसम्म अभियानको तयारी, कार्यक्रम, मोडालिटी, जनशक्ति परिचालनको लागि समयसीमा तोकिएको छ ।
अध्यक्ष प्रचण्डले आइतबार पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी अभियानको तयारीमा जुट्न निर्देशन दिएका थिए । जसअनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा वर्षमान पुन, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी विशेष प्रदेशमा वर्षमान पुन, उपत्यका सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्कीले इन्चार्जको जिम्मेवारी पाएका छन् ।