अनिता देवी : छोटो समयमै राजनीतिक छलाङ, नसोचेको जिम्मेवारी
जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी छन् ।भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छिन् । उनलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएका थिए । उनलाई पूर्वमन्त्री मोदीले मन्त्रालयमा स्वागत गरे ।
तीन/चार वर्षदेखि सक्रिय राजनीतिमा लागेकी अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ । ‘हाम्रो घर र माइती पक्ष राजनीतिक पृष्ठभूमिको थिएन । त्यसैले मन्त्री, सांसद बन्छु भनेर सोचेकी पनि थिइनँ’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर राजनीतिमा लाग्दा बाटो खुल्ने रहेछ ।’
अनिताले २०७९ वैशाख ३० गते चुनावको पहिलो अनुभव बटुलिन् । उनी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बनेकी थिइन् । तर, पार्टी नयाँ र धरातल कमजोर हुँदा करिब १५ सय मत मात्र पाइन् । जसले जमानत समेत जोगाउन मुस्किल पर्यो अनितालाई । तर भाग्यशाली उनी मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा जनमत पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाइन् र अहिले मन्त्रीसमेत बनिन् ।
उनका पति इन्जिनियर सञ्जयकुमार साह वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए । डा. सिके राउतले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाउँदा प्रभावित भएर २०१४ मै उनी पनि त्यही अभियानमा लागे ।
डा. सिके राउतको गठबन्धनमा विदेशबाटै पति आबद्ध हुँदा अनिताको चासो पनि राजनीतितिर बढ्न थाल्यो । अप्रत्यक्ष रुपमै गठबन्धनलाई सघाउन थालिन् ।
डा. सिके राउत पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा आए र जनमत पार्टी खोले । त्यसपछि अनिताले खुलेर पार्टीको झण्डा बोकिन् ।
पहिले उनीहरु नेपाली कांग्रेसका समर्थक थिए । तर परिवारबाट कोही सक्रिय राजनीतिमा भने थिएनन् । ‘राजनीति गर्छु भनेर सोचेको थिइनँ । जसरी हाम्रो पार्टीको अध्यक्ष डा. सीके राउतले पनि राजनीति गर्छु भनेर सोच्नुभएको थिएन नि ! तर परिस्थितिले राजनीति गर्न बाध्य बनायो’ अनिता भन्छिन्, ‘पछि खुलेर जनमत पार्टीको झण्डा बोकें ।’
मूलधारको राजनीतिमा आउँदा पार्टीको विचार सिद्धान्तबाट प्रभावित भएर समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भनेर झण्डा बोकेको उनको भनाइ छ ।
डेढ वर्ष धनुषा जिल्ला पार्टीको इञ्चार्ज भएर काम गरेकी अनिता र उनका पति दुवै जनकपुरमा भएको जनमतको प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा चयन भए ।
पार्टीमा देखिएको सक्रियता र लगनशीलताले केही समय पश्चात अनितालाई जनमतले केन्द्रीय सचिवमा मनोनीत गर्यो । हाल अनिता जनमत पार्टीको केन्द्रीय सचिवसँगै संसदीय दलको प्रमुख सचेतकसमेतको जिम्मेवारीमा छिन् ।
धनुषाको औरही गाउँपालिका-६ चक्कर टोलका इन्जिनियर बुबा एमुना साह र आमा स्वर्गीय दिव्यकला देवीका चार छोरी मध्येकी साहिली हुन् अनिता । बुबा जागिरे हुँदा सँगै बसेर काठमाडौंको थापाथलीस्थित गुजेश्वरी माविबाट कक्षा ८ सम्म पढेकी उनले गाउँकै शंकर जनता मावि चक्करबाट एसएलसी पास गरेकी छन् । जनकपुर नाइट कलेजबाट अनिताले प्लस टु र त्यसपछि हेल्थ विषय लिएर स्नातक गरेकी छन् ।