संसदीय समितिमा रमिता : संसद् चलेको ८ महिनामा पनि समितिले पाएन सभापति
प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङ झुक्किए । समितिको आन्तरिक कार्यविधि बनाउन छलफलका लागि बसेको बैठकमा आफ्नो बोल्ने पालो आएपछि तामाङले ढिलै भए पनि समितिको पहिलो बैठक राखेकोमा सभापति चित्रबहादुर केसीलाई धन्यवाद दिए । अन्य सांसदहरूले उनलाई दोस्रो बैठक रहेको जानकारी गराउँदा पहिलो बैठक कहिले बसेको उनले मेसो नै नपाएको बताए ।
संसद् सुचारु भएको ५ महिनापछि गत बैशाख १५ गते प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समिति गठन भएको थियो । गत जेठ २ गते यी सबै समितिको पहिलो परिचयात्मक बैठक राखिएको थियो । जेठ २ गते पहिलो बैठक बसेपछि झन्डै साढे २ महिनापछि बल्ल राज्य व्यवस्था तथा सुशासन समितिको दोस्रो बैठक राखिँदा सांसद तामाङ झुक्किनु सामान्य नै थियो ।
समितिको बैठक नियमित नबसेकोमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले ज्येष्ठ सदस्यको हैसियतमा सभापति रहेका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीमाथि कटाक्ष गरे । श्रेष्ठले सभापति केसीले बैठक राख्न नसके उनीभन्दा पछाडिको अर्को ज्येष्ठ सदस्यले पनि बैठक चलाउन सक्ने भन्दै समिति चलायमान नभएकोमा ध्यानाकर्षण गराए । उता केसीले आफू काम चलाऊ सभापति मात्र भएको बताउँदै समितिको बैठक नबस्नुको दोष आफूमाथि नबोकाउन आग्रह गरे । उनले समितिको बैठक राख्न सबै सांसदको उत्तिकै भूमिका रहेको बताउँदै उखान हाले–‘खुर्सानी नहुँदैमा भान्छा रोकिँदैन ।’
देशमा ठुला भ्रष्ट्राचार, ठगी, तस्करीका घटना भइरहेका बेला सरकारलाई निगरानी गर्ने, सचेत गराउने र निर्देशन दिनुपर्ने राज्यव्यवस्था समितिको बैठक घटना प्रकृतिका आधारमा बैठकलाई नियमित गर्न शुक्रबारको बैठकमा सांसदहरूले माग गरेका थिए ।
समितिमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट उत्पत्ति भएका गरी ४ वटा विधेयक दफावार छलफलका लागि पठाइएको छ । तर समितिले हालसम्म बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधि समेत बनाइसकेको छैन । समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक,२०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७६ माथि दफावार छलफल गर्नुपर्ने दायित्व छ । तर संसद् सञ्चालन भएको ८ महिनामा बल्ल दोस्रो बैठक बसेको यो समितिको अर्को बैठक कहिले बस्ने टुङ्गो छैन ।