प्रहरीले नै सूचना चुहाउँदा विजय गच्छदारसहित ३ पूर्वमन्त्री फरार
पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरुद्ध पनि पक्राउ पुर्जी आएको छ । तर, शाह अहिले नख्खु कारागारमा थुनामा छन् ।
जनकपुर बम काण्डमा थुनामा परेका शाहलाई नख्खुस्थित डीआरसी ब्लकमा राखिएको नख्खु कारागारकी जेलर कल्पना घिमिरे नेपालले बताइन् । उनले भनिन्– ‘पूर्व राज्यमन्त्री शाह ५ वर्षदेखि नख्खुमा हुनुहुन्छ ।’
पक्राउ पुर्जी जारी भएको सुराक पाएपछि ३ जना पूर्वमन्त्रीहरु फरार भएका छन् । फौजदारी मुद्दामा संलग्न देखिएपछि प्रहरीको आग्रहमा अदालतबाट न्यायाधीशले पक्राउ पुर्जी जारी गर्छन् । आरोपित पक्राउ गर्नुअघि पुर्जी जारी भएको विषय गोप्य राख्नुपर्ने भए पनि सो सूचना चुहिँदा कसुरमा संलग्नहरू भाग्ने गरेका छन् ।
उप–प्रधानमन्त्री विजय गच्छदार सहितका पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना प्रहरीबाट चुहिएको थियो । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरु संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
साउन २१ मा पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गच्छदार समेतलाई खोजी सूचीमा राखेको छ । तर, पक्राउ गरेको छैन । राजनीतिक पहुँच भएका पूर्व मन्त्रीहरूलाई पक्राउ नगरेको बारे प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत ‘थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने’ बताउँछन् ।
कुरा गर्दै कडायतले भने– ‘कतिपय अवस्थामा पक्राउ नगरीकन पनि अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकृतलाई हुन्छ ।’ अनुसन्धान अधिकृतले शंकितलाई जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएर बयान गर्न र छाड्न सक्ने अधिकार भएको डीआईजी कडायतले बताए ।