राष्ट्र बैंकका कार्यकारी निर्देशक अर्थ मन्त्रालयमा नियुक्त
सरकारले विशेष आर्थिक सल्लाहकारको रूपमा अर्थ मन्त्रालयमा तीन जनालाई नियुक्त गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकर भट्ट, अर्थविद् डा. विश्व पौडेल र डा.पोषराज पाण्डेलाई सल्लाहकारको रूपमा नियुक्त गरेको हो ।
सरकारले डा.द्वय पौडेल र पाण्डे अवैतनिक (तलब सुविधा नलिने) गरी सल्लाहकारको रूपमा नियुक्त गरेको हो भने राष्ट्र बैंकका प्रवक्ताको जिम्मेवारीमा समेत रहेका डा.भट्टलाई सल्लाहकार बनाएर मन्त्रालय तानेको हो ।
यद्यपि, डा।भट्टसहित सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका पौडेल र पाण्डेको पद भने राज्यमन्त्री सरह हुने गरी नियुक्ति भएको अर्थमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए ।
नवनियुक्त आर्थिक सल्लाहकारको भूमिका अर्थतन्त्रको सुधारका लागि सरकारलाई मागर्दशन गर्नेदेखि बजेट निर्माणमा सहयोगी भूमिका रहनेछ ।
उसो त पछिल्लो आर्थिक गतिरोधको अन्त्य गर्दै दीर्घकालीन सुधारका लागि केही काम गर्न खोजिरहेका अर्थमन्त्री डा.प्रकाश शरण महतले बलियो टिम बनाएर अगाडि बढ्न खोजेका छन् ।
पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य र भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक छन् ।