अमेरिकी राजदूत भन्छन्- एमसिसीमा नेपाली नेताहरूलाई धम्क्याएका छैनौं
नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको बताएका छन्।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन हुने धम्की दिएको भनी आएका समाचारमा सत्यता नरहेको बताए। केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई फोन गरी एमसिसीबारे कुराकानी गरेका थिए।
टेलिफोन कुराकानीका क्रममा लुले एमसिसी पास नभए नेपाल-अमेरिका सम्बन्धमा पुनरावलोकन हुने भनी नेताहरूलाई धम्क्याएको भन्दै समाचार प्रकाशित भएका थिए। प्रचण्डनिकट स्रोतले कुराकानीका क्रममा लुले नेपालले एमसिसी पारित नगरे चीनका कारण नगरेको भनेर बुझ्ने बताएको जनाएको थियो।
राजदूत बेरीले टेलिफोन कुराकानीका क्रममा सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूले गरेको प्रतिवद्धता पूरा गर्न भनेको बताए।
राजदूत बेरीले पछिल्लो समय आफूहरूले सबै दलका नेताहरूसँग कुरा गरिरहेको उल्लेख गर्दै कुराकानीका क्रममा सबै नेताहरूले एमसिसी परियोजनाबाट नेपालमा पूर्वाधार र रोजगारी आउने कुरा बुझेको बताए।