एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा प्रहार
काठमाडौंको बानेश्वरमा प्रदर्शनकारीमाथि पानीको फोहरा हानिएको छ।
बुधबार अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। उनीहरूले विभिन्न नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।
तीमध्ये बानेश्वरमा पनि प्रदर्शन भइरहेको छ। त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
प्रदर्शन क्रममा ४० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।
त्यसमध्ये चार जना महिला छन्।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरिएका छन्।
बानेश्वरमा भइरहेको प्रदर्शनमा श्रेष्ठ सहभागी भएका हुन्। यस्तै केही पार्टीले एमसिसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेको थियो।
बिहानदेखि बन्द गराउँदै हिँड्ने ५२ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंबाट ३७ जना, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ।