भारत–भुटान सीमा क्षेत्रमा जंगली हात्तीकाे आतंक
नेपालीभाषीको बाहुल्य रहेको भारत र भुटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ ।
भुटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए ।
पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन । किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ)मा अनिदै रात बिताउने गरेको उनले जानकारी दिए ।
जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरूको मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए ।