पूर्वी कैलालीका झण्डै २०० घर डुबानमा, ३ जना बेपत्ता
कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् ।
मंगलबार राति करिब १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक विष्टले दिएको जानकारी अनुसार बाढीले इलाका प्रहरी कार्यालय टीकापुर र साइपुर क्षेत्रका थप ७० घर पनि डुबानमा परेका छन् ।
उनका अनुसार जानकी गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि बाढीले झण्डै ४० घर डुबानमा परेका छन् भने कैलारी गाउँपालिकाको खल्लाफाटामा पनि २५ घर डुबानमा परेका छन् ।
डीएसपी विष्टले नदीले घर डुबाएपछि प्रभावित भएका स्थानीयलाई राति नै कालिका माध्यमिक विद्यालय र आफन्तको घरमा सारिएको जानकारी दिए ।
अविरल वर्षासँगै आएको बाढीले बर्दियाको राजापुरलाई कैलालीको टीकापुरसँग जोड्ने हुलाकी राजमार्ग नै बगाएको छ । राजमार्ग बगाएपछि राजापुर–टीकापुर यातायात सेवा प्रभावित बनेको छ ।