क्रियाशील वितरणमा धाँधली भयो, पार्टीभित्रै कोही तानाशाह नबनोस्: सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको बताएका छन्।
‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ। आफ्ना मान्छेलाई क्रियाशील दिँदा विधि विधान हेर्नुपर्दैन?,’ सिंहले प्रश्न गरे, ‘पार्टीभित्र कोही तानाशाह बन्छ भने लोकतान्त्रिक पद्धतिबाटै हामी हटाउँछौं।’
उनले सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा महाधिवेशन अन्यौलमा पर्ने स्थिति सिर्जना भइरहेको बताए। चार वर्षमा हुनुपर्ने महाधिवेशन ५ वर्ष छ महिनामा पनि भएको छैन। उनले क्रियाशील सदस्यको अन्तिम सूची सार्वजनिक गरेर दाबी विरोध गर्न सक्ने समय दिइनुपर्ने बताए। सभापति देउवाले क्रियाशील सूची निर्वाचन समितिलाई बुझाएका छैनन्।
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पनि महाधिवेशन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए। क्रियाशील सदस्यता नै अधिवेशनका लागि मतदाता भएकोले विवादित ठाउँमा अहिलेका लागि क्रियाशील सदस्यता रोक्नुपर्ने र पुरानैबाट अधिवेशन गरिनुपर्ने बताए।
सिंहले आज नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २५ औं स्मृति दिवसमा महिला संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा अब कार्यतालिकाअनुसार नै महाधिवेशन हुनुपर्नेमा जोड दिएका थिए।