चार दिनदेखि हराएका युवक मृत फेला
चार दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन् । गोरखा नगरपालिका वडा नं ८ थाकलडाँडाका २७ वर्षीय मिनप्रसाद रोका मृत अवस्थामा भेटिएका हुन् । चैत्र ३१ गते राती पसल जाने भन्दै घरबाट निस्किएका उनी त्यस दिनदेखि बेपत्ता भएका थिए । आफन्त र स्थानीयले खोजी गर्दा समेत उनी फेला पर्न सकेका थिएनन् ।
थाकलडाँडाकै एउटा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालका अनुसार थाकलडाँडाको पाखोमा चिलाउने रुखमा तारको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेकाे हाे ।
घटना भएको चार दिन भइसकेकोले शव गन्हाउने भइसकेको समेत उनले बताए । रोकाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।