मकवानपुरमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
मकवानपुरको हेटौँडाबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ गर्ने क्रममा उनीहरू भाग्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो।
प्रहरीले उनीहरूको साथबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरेको छ।
नियन्त्रणमा लिइएका दुवै व्यक्ति, अटो तथा बरामद हतियार र गोली आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सहप्रवक्ता थापाले जानकारी दिएका छन्।