सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ
सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१ का २५ वर्षीय अमर दर्जी ५ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।
त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीको टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का २९ वर्षीय हेमकुमार विकलाई प्रतिबन्धित औषधि निट्राजेपामका ६० ट्याब्लेटसहित पक्राउ गरेको छ।
यसैगरी, अस्थायी प्रहरी चौकी जनतावासीबाट खटिएको टोलीले इटहरी उपमहानगरपालिका–५ का २२ वर्षीय अबिनाश शंकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।