रक्सीको मातमा मध्यरातमा बस चलाउँदा दुर्घटना
(विराटनगर) बसपार्कमा पार्किङ गरेर राखेको बस सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनाका एक युवाले चलाउँदा विराटनगर महानगरपालिका–३ बरगाछीमा बुधबार राती दुर्घटनामा परेको छ । को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएको खुलेको छ । दुर्घटनामा परेर कार्की गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पार्किङ गरेर राखेको स्थान विराटनगर बसपार्कबाट राति ११ बजेतिर कार्कीले लिएर गएको र लगभग दुई किलोमिटर उत्तरमा बरगाछी पुर्याएपछि दुर्घटनामा परेको खुलेको छ । साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला कार्कीले बस आफूखुसी लिएर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार दुर्घटना हुनअघि बसका सह–चालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर एउटा होटलमा कार्कीले मदिरा सेवन गरेको पनि खुलेको । त्यसपछि दुलाल बसमै गएर सुतेको र कार्कीले चलाएर उत्तरतर्फ लिएर गएको राईले बताए । दुर्घटना हुँदा बसभित्रै रहेका दुलाल भने सकुशल छन् । घटना भएका बेला उनी भने मदिराको नशामा रहेको प्रहरीले जनाएको छ । बसले किचिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि लगिएका कार्की पनि मदिराको नशामा लट्ठ रहेको राईले बताए ।
'बस जुनसुकै चाबीले पनि खुल्ने गरेको पाइयो । चालक सुत्न गएपछि अर्कै चाबीको प्रयोग गरेर बसपार्कबाट कार्कीले लगेको खुलेको छ,' डीएसपी राईले भने, 'कार्की अत्याधिक मदिरा सेवन गरेर होसमा नभएका कारण बस आफै अनियन्त्रित भएर दुर्घटनाको देखिन्छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।'
उनका अनुसार कार्की डेढ वर्षअघिसम्म त्यही बसमा सह–चालकका रुपमा काम गर्थे । बस विराटनगरबाट उदयपुरको कटारीसम्म सञ्चालन हुँदै आएको थियो । त्यसमा काम गर्न छाडेर कार्कीले अर्को दिक्तेल–ओखलढुंगा चल्ने ना ५ ख ३५०३ नम्बरको बसमा सह–चालकका रुपमै काम गर्न थालेको पाइएको छ । प्रहरीका अनुसार त्यो बस पनि एक महिनाअघि सप्तरीमा दुर्घटनामा परेको थियो । आफूले काम गर्ने बस दुर्घटनामा परेर थन्किएपछि फुर्सदिला बनेका उनी विराटनगरमा आएर साथीहरुसँग बस्दै आएको पाइएको प्रहरीले जनाएको छ ।
त्यही क्रममा आफूले पहिले काम गर्ने बसका सह–चालकसँगै बसेर मदिरा सेवन गरेपछि कार्कीले बसपार्कमा पार्किङ गरेर राखेको बेला आफूखुसी मध्यरातमा लिएर गएको पाइएको डीएसपी राईले बताए । तर बीचैमा दुर्घटनामा परेपछि गन्तव्यसम्म पुग्न नपाएको र त्यो बस कहाँसम्मका लागि लिएर गएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको उनको भनाइ छ ।
प्रहरीले दुर्घटनामा परेका बेला बसभित्रै रहेका सह–चालक दुलाललाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनले आफू मदिराको नशामा लट्ठ रहेका कारण कार्कीले कतिबेला बस चलाएभन्ने पनि थाहा नभएको बताएका छन् । ‘रक्सी खाएर नशा लागेपछि म बसभित्र छिरेर पछाडि सुतेको थिएँ । तर त्यहीबीचमा कार्कीले बस चलाएर लगेछन्,’ उनलाई उद्रित गर्दै प्रहरीले भन्यो, ‘बस स्टार्ट गरेर दुई किलोमिटरभन्दा बढी लगिसक्दा पनि मैले थाहा पाइँन । एक्कासि दुर्घटनामा परेपछि मात्रै मेरो पनि होस खुल्यो ।’
बस सडकको विपरीततिर गएर दुर्घटनामा परेको छ । उत्तरतर्फ गइरहेको बस छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात चालकको दायाँतिर पुगेर बिजुलीको पोलमा ठोक्किएको डीएसपी राईले बताए । बस ठोक्किएपछि बिजुलीको पोल भाँच्चिएको जानकारी उनले दिए । दुर्घटनापछि पोल भाँच्चिएर अगाडि पुगेको बसले एसबीआई बैंकको एटीएम बुथ रहेको सटरमा पनि क्षति गरेको राईको भनाइ छ ।
दुर्घटनामा परेर घाइते भएका कार्कीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको छ । ‘दुर्घटना भयानक हिसाबको भए पनि रातको समय र मानिसको चहलपहल कम भएकाले ठूलो क्षति हुन पाएन,’ राईले भने, ‘घटनास्थलमा पुगेको प्रहरीले भाँच्चिएको बिजुलीको पोल र पोलसँगै भुइँमा लत्रिएका एवं छिनेका तारहरु तथा दुर्घटनामा परेको बस हटाएर सडक सुचारु गरेको हो ।’ भाँच्चिएको बिजुलीको पोल, छिनेका तार र बसका कारण कोसी लोकमार्गको सडक अवरुद्ध बनेको थियो ।
राईले दुर्घटना भएका बेला तारमा विद्युत प्रवाह भइरहेको थियो कि थिएनभन्ने खुल्न बाँकी रहेको जनाए । 'यदि विद्युत प्रवाह भइरहेको नांगो तार थियो भने करेन्ट लागेर मानवीय क्षति हुनसक्थ्यो,' उनले भने, ‘दुर्घटना लगत्तै पोल ढलेका कारण विद्युत अवरुद्ध भएको पनि हुनसक्छ ।' डीएसपी राईले बस कार्कीले कहाँ र किन लिएर गएका हुन् भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने जानकारी पनि दिए ।