राष्ट्रियताका पक्षमा ओलीले अडान लिँदा सरकार ढाल्ने सड्यन्त्र भयाे : भगवती चौधरी
(सुनसरी) सरकारलाई विभिन्न तवरले घेरावन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्रीले नचाहँदा नचाहँदै संसद विघटन गर्नु परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताउनुभएकाे छ ।
सुनसरी क्षेत्र नं. ३ को इटहरी उपमहानगरपालिका वडा नं. १०, ११, १२ र १३ का अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ चौधरीले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडान, संमृद्ध मुलुक सुखी नेपालीको नाराकै कारण मुलुकलाई परिवर्तनको दिशातर्फ अगाडी बढाउन नचाहने तत्वले नेकपालाई फुटको दिशातर्फ उन्मुख बनाइएको पूर्वराज्यमन्त्री समेत रहनुभएकाे चौधरीले बताउनुभयाे ।
‘सरकारले जनताका पक्षमा राष्ट्रियताका पक्षमा काम गर्दागर्दै आफ्नै पार्टीभित्र शीर्ष नेताहरुले देशी विदेशी शक्तिहरुको इशारामा लागेर सरकार ढाल्ने सड्यन्त्र गरे । प्रमुख प्रतिपक्षले समेत सरकारलाई काम गर्न दिनुपर्छ भनेर संयमता अपनाउँदा आफ्नै पार्टीभित्रका नेताहरुले सरकारलाई असफल पार्ने काम गरे ।’ चौधरीले अगुवा नेता कार्यकर्तालाई संवोधन भन्नुभयाे ।
ओली सरकारलाई सुरुदेखि नै काम गर्न नदिने रणनीति अपनाइएको चौधरीको बुझाई छ । ‘मंसिरमा चुनाव भयो, फागुनमा सरकार गठन गर्दा नै प्रचण्ड पक्षहरुले सरकारमा जाने–नजाने बखेडा निकालेका थिए,’ उहाँले भन्नुभयाे ।
चौधरीले संविधान जारी गर्ने बेलामा पनि अवरोध पैदा गर्दा ओलीले संक्रमणकाल लम्बिने, राजनीतिक अस्थिरता हुन्छ भनेर संविधान जारी गर्नैपर्छ भनेर अडान लिएपछि मात्र संविधान जारी भएको बताउनुभयाे ।
उहाँले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संबैधानिक भएको बताउँदै महिला राष्ट्रपति भएकै कारण सडकमा उछितो काढिएको जिकिर गर्नुभयाे । ‘हाम्रो संविधानले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेकोले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई राष्ट्रपतिले रोक्ने कुनै अधिकार छैन । उहाँले त्यहि अधिकार प्रयोग गर्दा आज सडकमा सुन्न नसकिने नाराहरु लागि रहेका छन्’ चौधरीले भन्नुभयाे, ‘संविधानले सबैलाई आफ्ना कुरा राख्ने छुट दिएको छ भन्दैमा मुलुककै सर्वोच्च पदमा रहेकालाई समाजमा पच्नै नसक्ने प्रकारका शब्द प्रहार गर्नु कत्तिको उचित हो ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकार र समावेशिताका सवालमा संसदमा रहँदा धेरै काम गरेको तर्क गर्दै विद्यादेवी भण्डारीले महिलाहरुलाई राजनीतिमा स्थापित गराउँनै पर्दछ भनेर संसदको सर्वदलीय ककस र संबैधानिक परिषद्को बैठकमा जोडदार कुरा उठाएको स्मरण गर्नुभयाे ।
‘मेयर उमेयर, लयायत राज्यका महत्वपूर्ण स्थानमा महिलाको प्रतिनिधित्व गराउनु पर्छ भनेर उहाँले लिएको अडानकै कारण आज महिलाहरु स्थानीय निकाय देखि राज्यमा विभिन्न ठूला पदमा पुगेका छन् । एउटी महिला मुलुकको सर्वोच्च पदमा रहँदा उनलाई होच्याउनु भनेकोे संविधान र समावेशिताको विरुद्ध हो । राष्ट्रपति भण्डारी महिला अधिकारका पक्षमा वकालत गर्ने नेतृत्व हुनुहुन्छ ।’ चौधरीले भन्नुभयाे, ‘उहाँप्रति निकृष्ट प्रकारको गाली गलौज गर्नु भनेको समग्र महिला माथिको अपमान हो ।’