अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म
मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भएपनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर १९९२ मा सुरक्षित राखिएको थियो।
सन् २०२० को फेब्रुअरीमा आएर बल्ल अमेरिकाको टेनसी निवासी टिना र बेन गिब्सनले उक्त भ्रूण अपनाए। मलीले सबैभन्दा लामो समयसम्म सुरक्षित रूपमा चिस्याएर राखिएको भ्रूणबाट जन्मिने शिशुको कीर्तिमान बनाएकी छन्। यससँगै उनकी दिदी एमाको कीर्तिमान पनि उनले भङ्ग गरेकी छन्।
'हामी औधी खुसी भएका छौँ,' टिना गिब्सनले बताइन्। 'पाँच वर्षअघि यदि कसैले मलाई एउटा होइन दुइटी छोरीकी आमा हुन्छ्यौ भनेको भए म पत्याउन्नथेँ,' उनले भनिन्।
भ्रूणदान
पाँच वर्षसम्म सन्तान नभएपछि उनका आमाबुवाले संरक्षित भ्रूण दान लिएर बच्चा पाउन सकिने समाचार पढे। "मेरा आमाबुवाले उक्त समाचार नदेखेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ,' २९ वर्षीया टिना गिब्सनले भनिन्।
टिना एक प्राथमिक विद्यालयकी शिक्षिका हुन् भने ३६ वर्षीय पति बेन साइबर सुरक्षा विश्लेषक हुन्। उनीहरूले नक्स्भिलस्थित न्याश्नल एम्ब्रियो डोनेशन सेन्टर (एनईडीसी) सँग सम्पर्क गरे।
उक्त केन्द्रले इन भिट्रो फर्टिलाइजेशन पद्धतिबाट विकसित भ्रूणलाई चिसो तापक्रममा सुरक्षित रूपमा भण्डारण गरेर राख्छ। कतिपय प्राकृतिक अभिभावकले त्यस्ता भ्रूणका दान दिनका निम्ति पनि छाडिदिन्छन् जसलाई गिब्सन दम्पतीजस्ता नि:सन्तान व्यक्तिले अपनाउन सक्छन्।
उनीहरूले त्यसपछि प्राकृतिक रूपमै त्यस्ता भ्रूण प्रयोग गरी शिशु जन्माउन सक्छन्।