भारतमा कोरोना भाइरसविरुद्ध बनिरहेको छ ९ वटा भ्याक्सिन
कोरोना भाइरसविरुद्ध भारतमा धेरै भ्याक्सिन परीक्षण चरणमा छन्। सन् २०२१ को जनवरीसम्ममा केही भ्याक्सिनले प्रयोगको मान्यता पाउने अनुमान छ। जनवरीबाट मानिसहरुले कोभिड १९ को भ्याक्सिन लगाउन पाउने भारतका स्वास्थ्य मन्त्री डा.हर्षवर्धनको भनाई छ। सरकारको पहिलो प्राथमिकता नै भ्यक्सिनलाई जनता समक्ष पुर्याउने रहेको उनले बताएका छन्।
समाचार एजेन्सी एएनआईलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन् 'मलाई लाग्छ कि जनवरीमा त्यो समय आउन सक्छ जब हामी कोरोना भ्याक्सिन लगाउने स्थितिमा हुनेछौं।'
हाल कोरोनाविरुद्ध प्रयोगका लागि आवेदन दिएका सबै कोरोना भ्याक्सिनका बारेमा विश्लेषण भइरहेको उनले बताए।
‘कोभिड १९ को भ्याक्सिनमाथि अनुसन्धानका मामलामा भारत अन्य राष्ट्रभन्दा पछि छैन’ उनले दावी गरेका छन्।
डा.हर्षवर्धनका अनुसार भारतमा स्वदेशी भ्याक्सनको काम जारी रहेको र आगामी छ देखि सात महिनामा ३० करोड मानिसलाई भ्याक्सिनको डोज दिइने छ।
त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल भारतमा ९ वटा कोरोनाविरुद्ध भ्याक्सिन बनिरहेका छन्। जो क्लिनिकल ट्रायलका लागि फरक-फरक स्तरमा रहेका छन्। जसमध्ये ६ वटा क्लिनिकल ट्रायलमा छन् भने तीनवटा प्री- ट्रायलमा रहेका छन्।
हाल ट्रायलको अन्तिम चरणमा रहेको भ्याक्सिन हो कोविशिल्ड। एस्ट्राजेनिक र अक्सफोर्ड यूनिभर्सिटीसँगको सहकार्यमा बनाइएको यो भ्याक्सिन भारतमै उत्पादन भइरहेको छ।
त्यस्तै ट्रायलमै रहेको कोभ्याक्सिन हैदराबाद स्थित भारत वायोटेकले बनाइरहेको छ। तेस्रो चरणको ट्रायलमा रहेको यो भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति माग भइरहेको छ। त्यसैगरी ट्रायलमै रहेको अर्को भ्याक्सिन हो जीकोभ-डी। केडिला हेल्थकेयरको यो भ्याक्सिन डीएनए प्लाटफर्ममाथि बनाइरहेको छ। जसका लागि केडिलाले बायोटेक्नोलोजी विभागलाई सहयोग गरेको हो। यसको पनि तेस्रो चरणको क्लिनिकल ट्रायल जारी छ।
भारतका अरोबिन्दो फर्मले पनि एक भ्याक्सिन बनाइरहेको छ। अमेरिकाको अरोवैक्सीनको सहयोगमा बनिरहेको यस भ्याक्सिन हाल विकासोन्मुख तहमा रहेको पनि बीबीसीमा उल्लेख गरिएको छ।
यसका साथै भारतले अन्य देशमा उत्पादन भएको भ्याक्सिन आयात गर्ने तयारी समेत गरिरहेको छ।