बालिका बलात्कार गरी हत्या गर्ने व्यक्तिलाई बिहारमा मृत्युदण्डको सजाय
भारतको बिहारमा ३ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
२४ महिनाको कानुनी प्रक्रियापछि २९ वर्षका रामलाल महतोलाई बिहारको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
सन् २०१८ को जुन २ मा ३ वर्षकी बालिका हराएको भनेर दालसिङसराई प्रहरी चौकीमा उजुरी परेको थियो। त्यसको भोलिपल्ट ती बालिका हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।
नग्न भेटिएकी बालिकाको शरीरभर चोट थियो। घटना हुनु अगाडि ८ प्रत्यक्षदर्शीले बालिकालाई रामलालसँग देखेका थिए।
रामलालले सुरुवातमा बलात्कारको घटना अस्वीकार गरेपनि पछि यो कुकर्म आफैंले गरेको भनेर स्वीकार गरेका थिए।