कोलम्बियामा फेब्रवरीदेखि कोरोनाविरुद्धको खोप दिने तयारी
बोगोटा : दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोना विरुद्धको खोप आगामी फेब्रवरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले जानकारी दिएका हुन् ।
स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए । सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउनेगरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाई थियो ।
कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
उनले भने, आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, 'हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रवरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ'। उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिएका छन् ।
त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको उनले बताए ।