बेलायतमा अनुमति दिइएको कोरोनाको खोपले काम गर्नेमा विश्वस्त छु : डा.फाउची
अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आममानिसका लागि कोरोनाको खोप लगाउन बेलायतले दिएको निर्णय सही ठहरिनेमा आफू विश्वस्त रहेको बताएका छन् । गत मंगलबार बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियाे ।
यूकेले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो टिप्पणी सच्च्याउँदै फाउचीले बेलायती प्रक्रियाप्रति आफू पूर्ण विश्वस्त रहेको बताएका हुन् । उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो ।त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले अहिले भने माफी मागेको बीबीसीले जनाएको छ ।
उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भनेका छन्, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’ आफूले केवल ब्रिटिश र अमेरिकी प्रणालीमा अनुमति प्रदानसम्बन्धी रहेका भिन्नता मात्र उजागर गर्न खोजेको प्रष्ट्याएका छन् ।
फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार प्रकाशित भएको थियो । तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ ।
बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।