सशस्त्रका जवानसहित दुई पक्राउ
भक्तपुरमा जिउँदो सालक सहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले सोमबार दिउँसो १ बजे धादिङ शितली गाउँपालिका-३ झार्लाङदीका २७ वर्षीय ध्रुबबहादुर मगर र ३१ वर्षीय भिमबहादुर मगरलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भिमबहादुर मगर सशस्त्र प्रहरीका जवान हुन् ।
उनीबाट सशस्त्र प्रहरी बलको परिचय पत्र समेत फेला पारेको छ । उनीहरूले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा जिउँदो सालक लिएर हिडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी चेक गरेको थियो । उनीहरूले बोकेको यूरिया मलको ५० केजीको बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक फेला पारेको हो ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय भक्तपुर पठाउने प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।