ग्वार्कोमा बस, भ्यान र दुई मोटरसाइकल ठोक्किए
ललितपुरको ग्वार्कोमा बस, जीप र दुई वटा मोटरसाइकल ठोक्किएका छन्।
बुधबार दिउँसो बालकुमारीबाट सातोबाटोतर्फ जाँदै गरेको बा ५ ख ७६४६ नम्बरको बसको ब्रेक फेल भएपछि ग्वार्को चोकमा दुर्घटना भएको हो।
बसले बा २१ च ७४६८ नम्बरको पिकअप भ्यानलाई पछाडिबाट ठक्कर दिएको थियो। बसले भ्यानलाई ठक्कर दिएपछि त्यसले अगाडिका दुइटा मोटरसाइकललाई ठक्कर दिएको थियो। बा ३७ प ६१४१ र बा ५२ प ८१६८ नम्बरको दुइटा मोटरसाइकलमा क्षति पुगेको हो
दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय ट्राफिक प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टर भोलामान सिंहले जानकारी दिए। घाइते हुने तीनै जना मोटरसाइकलमा सवार थिए। घाइते हुनेहरू राजु तामाङ, उदय तामाङ र उनका छोरा हिमाल तामाङ छन्।
उनका अनुसार उनीहरूको अवस्था सामान्य छ। 'तीन जना घाइते भएका छन्। उनीहरूको खुट्टामा चोट लागेको हो। अवस्था सामान्य नै छ,'उनले भने। उनीहरूको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेका चारै वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा छ भने बसका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।