बानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार ठोक्किए
(काठमाडौं) काठमाडौंको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन् । गए राति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् ।
गए राति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फ बाट तिनकुनेतर्फ गइरहेका थिए । बानेश्वर चोकबाट करिब २ सय मिटर टाढा शान्तिनगर नजिक ती गाडीहरु विपरीत दिशाबाट आइरहेको बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किए ।
यो दुर्घटनामा टिपर चालक दोलखाको साविक शैलुंगेश्वर गाविसका ३२ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका छन् । उनलाई ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ । कार चालक धुलिखेल बस्ने विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् । बस चालक फरार छन् । बसमा यात्रुहरु थिएनन् ।