उद्दार उडान बन्द गर्न सीसीएमसीको सिफारिस
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हाे ।
अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको सीसीएमसीले जनाएकाे छ । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्ण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले जानकारी दिनुभयाे ।
कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।
सिसिएमसीको बैठकले बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न सिफारिस गरेको छ । यसैगरी सिसिएमसीले जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरेकाे छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।
यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।