डिएगो म्याराडोना सुधारगृहमा
आर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोना मस्तिष्कको आकस्मिक शल्यक्रियापछि अस्पतालबाट बिदा भएका छन्।
तर मदिरामा निर्भर रहने समस्याबाट मुक्त गर्न उनलाई सुधारगृहमा लगिएको छ। सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या खेप्नुपरेको छ।
सन् १९८६ मा उनी संलग्न भएको आर्जेन्टिनी फुटबल टोलीले विश्वकप जितेको थियो। त्यतिबेला उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गरेको महत्त्वपूर्ण गोल विवादित बनेको थियो।
म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो। तर मदिरा परित्याग गर्दा उत्पन्न समस्याले उनी लामो समय अस्पताल बस्नुपरेको थियो।