सरकारकै निर्देशिकाका कारण कोरोना परीक्षण ह्वात्तै घट्यो
कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहे पनि परीक्षण भने ह्वात्तै घटेको छ। सरकारले निश्चित समूह बाहेक अन्यको परीक्षण गर्दा शुल्क लाग्ने निर्देशिका जारी गरेसँगै कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको हो।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १५ सय जनाको परीक्षण हुँदै आएकोमा अहिले भने औसत पाँच सय जनाको परीक्षण हुँदै आएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ता भन्छन्, ‘नयाँ निर्देशिका लागू भएसँगै परीक्षण घटेको छ। पहिले कन्ट्याक्ट ट्रेसिङबाट जति स्वाब आउँथ्यो त्यो अहिले कमी भएको छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार प्रयोगशालामा जम्मा १ सय ७८ जनाको परीक्षण भएको छ। ताकि प्रयोगशालाको दैनिक परीक्षण क्षमता नै १५ सय बढी हो।
मन्त्रालयले नै देशभर रहेका प्रयोगशालाबाट दैनिक २६ हजार जनाको परीक्षण गर्न सक्ने दाबी गर्दै आएको छ। तर अहिले आधा अर्थात दैनिक औसत १३ हजार जनाको परीक्षण हुँदै आएको छ। गत कात्तिक २ गते मन्त्रालयले परीक्षण गरेबापत शुल्क लाग्ने निर्णय गरेसँगै परीक्षण घटेको हो। सरकारले जारी गरेको परीक्षण सम्बन्धी नयाँ निर्देशिकामा निश्चत आधार भएका व्यक्तिहरूको मात्र निशुल्क परीक्षण हुने भनिएको छ।
जसमा विपन्न वर्ग, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला र फ्रन्टलाइनमा काम गर्ने व्यक्ति छन्। यी आधार भएका व्यक्तिहरूको सरकारले निशुल्क परीक्षण गर्ने भनेको हो।
अहिले निशुल्क परीक्षण गर्नलाई यी व्यक्तिहरूले नमूनासँगै आफ्नो आधार अनुसार प्रमाणित गर्ने कागजात वा फाराम पनि बुझाउनुपर्छ।
सरकारले नयाँ निर्देशिका जारी गर्दै परीक्षणमा कडाइ गरेसँगै सबै सरकारी प्रयोगशालामा परीक्षण ह्वात्तै घटेको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको दैनिक ६ सय जनाको परीक्षण गर्ने क्षमता भए पनि अहिले दैनिक औसत २ सय जनाको परीक्षण हुँदै आएको छ। गत दुई दिनमा प्रयोगशालामा जम्मा ४ सय १३ जनाको परीक्षण भएको छ।