मुस्ताङमा थप २ जनामा कोरोना संक्रमण
(जोमसोम) हिमाली जिल्ला मुस्ताङमा सोमबार पुनः २ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक महिला र जोमसोमस्थित एक वित्तिय संस्थाका कर्मचारीलाई कोरोना पोजिटिभ पुष्टि भएसँगै गरिएको कन्ट्रयाक ट्रेसिङमा कोरोना संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
कार्यालय प्रमुख भण्डारीका अनुसार योसँगै मुस्ताङमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मुस्ताङमा समुदाय स्तरमा पहिलो पटक कोरोना पोजेटिभ पुष्टि भएसँगै ३४ जना व्यक्तिको नमूना स्वाब पोखरास्थित क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पठाइएकोमा २ जना व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभको आएको हो । बाँकी सबैको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा नयाँ थपिएकामा थासाङ गाउँपालिका—५ कुञ्जोका ३० वर्षीय पुरुष र घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टकी ५२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । थपिएका २ कोरोना संक्रमित व्यक्तिको पनि केही दिनमै क्लोज कन्ट्रयाकका आधारमा स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बताएको छ ।