सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए
(काठमाडाैं) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे छ । आज दिउँसो १ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे हाे ।
बालुवाटार स्रोतका अनुसार मंगलबार राति मन्त्रीहरुलाई बैठकबारे जानकारी दिइएको थियो । तर, बैठकका एजेण्डाबारे मन्त्रीहरु पनि जानकार छैनन् । सातामा प्राय: सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । यसपटक सोमबार तिहार परेको थियो ।
आजै दिउँसो १ बजे नेकपाको पनि सचिवालय बैठक बस्दैछ । बैठक बालुवाटार वा पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भन्नेचाहिँ अझै तय भने भएको छैन ।
कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेस गर्नुभएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गर्दै आउनुभएकाे थियाे । अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुग्नुभएकाे थियाे । प्रचण्डले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किनुभएकाे थियाे ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनु अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए । त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले बताउँदै आएका छन् ।