म्याग्दीमा बोलेरो दुर्घटना : १ को मृत्यु, ५ घाइते
(म्याग्दी) जिल्लाको मंगला गाउँपालिका– २, बाबियाचौरको ताराखेतमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् ।
बाबियाचौर लाम्पाताबाट सल्यानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको थियो । ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा ११ बर्षिया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको हो । मृतक केसी चालक खुमबहादुर कटुवालकी छोरी हुन् । दुर्घटनामा घाईते हुनेमा राजन केसी, सुकला केसी, सनिता क्षेत्री कृपा क्षेत्री रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।
घाईतेको गाउँपालिकाको सवारीसाधन, ट्याक्सीमा बेनी तर्फ ल्याइएको छ । घटनास्थलमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहित प्रहरीको टोली पुगेको छ । चालक कटुवालले आफ्नै परिवारका पाँच सदस्य सहित एक छिमेकीलाई लिएर घरतर्फ जादै गरेको अवस्थामा काफचौरको माथिल्लो घुम्तीबाट बोलेरो खसेको थियो । चालक कटुवालले तीन महिना अगाडी मात्रै बोलेरो किनेका थिए । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।