कोरोनाभाइरस फैलिन नदिन १ करोड ७० लाख मिन्क मार्ने डेनमार्कको निर्णय
कोरोनाभाइरसको दोस्रो लहर आएपछि अहिले युरोपका धेरै ठाउँमा लकडाउन गरिएको छ। मानिसबीच कम सम्पर्क होस् भनेर विभिन्न मुलुकले फेरि कडा नीति अपनाएका छन्।
डेनमार्कमा भने एक जनावरबाट मानिसमा कोरोनाभाइरस फैलिएको देखिएको छ। भुँवा र रौंका लागि पालिने न्याउरी मुसाजस्तै देखिने जनावर मिन्कबाट सयौं मानिसमा कोरोना संक्रमण फैलिएपछि डेनमार्कले १ करोड ७० लाख मिन्क मार्ने भएको छ। पछिल्लो समय मानिसबाट मिन्कमा सरेको कोरोना भाइरस फेरि मानिसलाई आएको देखिएकाले मिन्कलाई मार्न लागिएको डेनमार्कले जनाएको छ।
डेनमार्कका अनुसन्धानकर्ताहरूले मिन्कमा हुँदा कोरोनाभाइरसको जिनमा उत्परिवर्तन भएको देखिएको छ।
मिन्कबाट आएको नयाँ कोरोनाभाइरस फैलिए अहिले बनाइरहेका भ्याक्सिनले काम नगर्ने ठानेर अधिकारीहरूले यति ठूलो संख्यामा मिन्क मार्न लागेका हुन्। मिन्कबाट फैलिएको कोरोनाभाइरस झन् डर लाग्दो हुन्छ कि हुन्न भन्ने एकिन नभए पनि पूर्वसावधानी स्वरूप यस्तो निर्णय गरिएको डेनिस अधिकारीहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठनले डेनमार्कबाट आएका रिपोर्टहरू ध्यान दिनुपर्ने खालका भए पनि मिन्कबाट आउने कोरोनाभाइरसको नयाँ स्ट्रेनले भ्याक्सिन विकासमा असर पार्छ कि पार्दैन भन्नेमा अझै अध्ययन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। डेनिस वैज्ञानिकहरूले मिन्कबाट आएको कोरोनाभाइरसको स्ट्रेनको अध्यनन गरिरहेका छन् भने संसारका अरू अनुसन्धानकर्तासँग पनि तथ्यांकहरू आदान-प्रदान गरिरहेका छन्।
अहिलेसम्म कुकुर, बिरालोलाई पनि कोरोनाभाइरस देखिएको छ तर उनीहरूको सम्पर्कमा आउका मानिसमा भाइरस सरेको देखिएको छैन।
मिन्कबाट मानिसमा अझ धेरै फैलन सक्ने क्षमता भएको कोरोनाभाइरस सरेपछि वैज्ञानिकहरूले अरू जनावरबाट पनि त्यस्तै भाइरस मानिसमा सर्न सक्छ कि सक्दैन भन्नेमा अध्ययन गरिरहेका छन्।