अमेरिकाले एक सय थान भेन्टिलेटर दियो
अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।
शुक्रबार अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहबीच भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
‘कोरोनाबाट सबभन्दा प्रभावित भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ,'मन्त्री ढकालले भने,'नेपालमा अहिले भएको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकैपटक दिएको छ यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’
उनले सो भेन्टिलेटरहरू शुक्रबार नै वितरण गरी प्रयोगमा ल्याउने बताएका थिए। सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि ७/७ वटा भेन्टिलेटर वितरण गर्ने उनले बताए। त्यस्तै, बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालहरूमा २/२ वटाका दरले वितरण गरिनेछ।
सो कार्यक्रममा राजदूत बेरीले पनि अमेरिका र नेपाल असल र खराब दुबै समयमा साथ रहेको बताएका थिए।
'यी भेन्टिलेटरमार्फत् हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौं। जसले गर्दा कोभिड-१९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्न तयार रहन सकून्,’ उनले भने। उनले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी विधि उपलब्ध गराउने कार्यमा अमेरिका प्रतिबद्ध रहेको समेत बताएका थिए।