बाइडन : फुटाउने होइन, जोड्ने काम गर्ने छु
अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् ।
राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे ।
आशावादी सम्बोधन गरेका उनले सबैलाई साथमा लिएर अघि बढ्ने बताए । रिपब्लिकन र डेमोक्रेटको रुपमा अमेरिका बिभाजित नहुने बताउँदै उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्ने छु । मैले रातो र नीलो राज्यको रुपमा हेर्दिनँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै मिलेर काम गर्ने छौं ।’
आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गरे । आफूले विभाजन नभई एकताको लागि काम गर्ने उनले बताए । बाइडनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु जसले फुटाउने होइन, जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोसिस गर्ने छु ।’
बाइडनले पहिलो काम कोरोना महामारी नियन्त्रणको लागि गर्ने योजना पनि सुनाए । उनले भने, ‘सोमबार एक टोली घोषणा गर्ने छु, जसमा कोरोना नियन्त्रणको योजनाका लागि काम गर्ने शीर्ष वैज्ञानिक र विशेषज्ञ हुनेछन् ।’ उनले कोसिस गर्दा कुनै कुरामा अमेरिका असफल नभएको पनि बताए ।