फरार भएका एक जना प्रहरीको नियन्त्रणमा
भारतदेखि तस्करी गरि ल्याएको औषधि बरामद गरेपछि फरार भएका एक जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । तस्करी गरि ल्याएको औषधि विराटनगर – १३ का नरेश यादवको घरमा भण्डारण गरेको अवस्थामा प्रहरीले सोमबार राति बरामद गरेको थियो ।
औषधि व्यवस्था विभागमा दर्ता नभएको चार कार्टुन विभिन्न नाम गरेको औषधि मोरङ प्रहरीले बरामद गरेपछि यादव फरार भएका थिए । मंगलबार दिउँसो विराटनगरबाट उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
यादवको घरबाट विभागमा दर्ता नभएको औषधिहरू बरामद भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । मोरङ प्रहरी कार्यालयमा ल्याएर यादवलाई सोधपुछ भइरहेको छ अवैध रूपमा यति धेरै औषधि कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
भारतदेखि तस्करी गरि यादवले घरमा राखेको मोरङ प्रहरीलाई विशेष सूचना पाएपछि सिआरबी जतुवाको टोलीले छापा मारेको थियो । प्रहरीले यादवको घरदेखि डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन रहेको चार कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधि व्यवस्था विभागमा दर्ता छैन ।
मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरि नेपालमा ल्याउँदा महंगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा बिक्री हुने गरेको बुझिएको छ ।
तस्करी गरि ल्याएको औषधिको विषयमा औषधी व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान गर्ने भएको छ । यादवले विराटनगरका केही फार्मेशीले मगाएको औषधि तस्करी गरि ल्याएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधि विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेशीको रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधि ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो सुरक्षा स्रोतले भन्यो यादवले फार्मेशीले मगाएको ठाउँमा तस्करीको औषधि पुर्याएवापत निश्चित रकम दिने गरेका बुझिएको छ । बालुवागिटीको कारोबारसमेत गर्दै आएका यादवको ट्याक्टरमा मुनिबाट औषधिको कार्टुन र माथिबाट पराल राखेर ल्याइएको थियो ।
मोरङ प्रहरीले तस्करीको औषधि बरामद गरेपछि औषधि व्यवस्था विभाग विराटनगरले केही फार्मेशीमा अनुगमन गरेको छ । मंगलबार दिउँसो विराटनगर १५ मा रहेको जीतु मेडिको फार्मेशीमा अनुगमन गरेको थियो । विभागबाट गएको टोलीले जीतु मेडिकोबाट कुनै त्यस्तो अवैध सामान नभेटाएको नेपाल औषधि व्यवस्था विभाग विराटनगरले जनाएको छ ।