प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई शहिद घोषणा गर्न माग
महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ । तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ ।
प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्। राजमार्गमा सवारी साधन चलेका छैनन् । प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ। न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो ।
बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन् । आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न उनीहरूले माग गरेका छन् ।
समितिले वार्ता गर्न भन्दै समिति गठन पनि गरेको छ । नेपाली कांग्रेसका नेता चिरञ्जीवि हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलब साह खातुनको सोमबार हत्या भएको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।