पत्रकार सीताराम बर्माको निधन
धादिङका क्रियाशील ७९ वर्षीय पत्रकार सीताराम बर्माको निधन भएको छ।
उपचारको क्रममा: बर्माको गए राति काठमाडौंस्थित किष्ट अस्पतालमा निधन भएको हो। बर्मालाई कोरोना संक्रमण देखिए पनि नेगेटिभ आइसकेको थियो। पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छतकुलीका अनुसार पत्रकार बर्मा प्रेसरका पनि बिरामी थिए।
बर्माले लामो समय राष्ट्रिय समाचार समितिमा रहेर काम गरेका थिए। उनी नेपाल पत्रकार महासंघ धादिङ र नेपाल प्रेस युनियन धादिङ शाखाका संस्थापक अध्यक्ष पनि हुन्।
उनको उपचारका क्रममा निधन भएको प्रेस युनियनले विज्ञप्ति निकालेर उल्लेख गरेको छ। उनकी कान्छी पत्नीको पनि हालै निधन भएको थियो।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले शुक्रबार बिहान निकालेको विज्ञप्तिमा बर्माको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बर्माको निधनको खबरले दुखी बनाएको बताएका छन्। पत्रकार महासंघ धादिङले शोक विज्ञप्ति निकालेर श्रद्धाञ्जली दिएको छ।
बर्माका तीन छोरी दुई छोरामध्ये एक छोराको निधन भइसकेको छ।
बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।